रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु
News Desk
Sep-03 , 2020 तारिख 11:51 बिहान

काठमाडौं — भाद्र १८, २०७७ । 

कोभिड–१९ संक्रमणको जोखिम रहेको बेला आज (बिहीबार) देखि रातो मच्छिन्द्रनाथको रथजात्रा शुरु भएको छ ।  सरकारले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि कुनैपनि भेला गर्न, चाडपर्व, जात्रा मनाउन निषेध गरेको छ । तर पनि ललितपुरको पाटनका स्थानीयले रातो मच्छिन्द्रनाथको राथजात्राको साइत यसपछि नरहेको भन्दै आज रथजात्रा निकालेका हुन् । रथजात्रा निकाल्नका लागि स्थानीयहरुको भिड लागेको थियो ।

‘वर्षा र सहकाल’का देवता रातो मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन शुरु भएर असार शुक्ल पक्ष चौथीसम्म मनाउने प्रचलन रहेको छ । तर यसवर्ष कोभिड १९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन आदेश जारी गरेपछि रथजात्रा निर्धारित साइतमा हुन सकेन । तर पनि साउन १० गते नागपञ्चमीको दिन दिउँसो १२ बजेको शुभसाइतमा रातो मच्छिन्द्रनाथलाई रथमा बिराजमान गराइएको थियो ।

रथमा विराजमान गराइएको चार दिनपछि रथजात्रा शुरु गर्नुपर्छ । तर कोभिड १९ संक्रमणको जोखिम कम नभएपछि रजथात्रा पनि रोकियो । जात्रा नभएपछि स्थानीयले दैनिक रथ बिराजमान गराइएको ठाउँमा पुगेर पूजाआजा गर्दै आएका थिए । 

(रातोपाटी)

Related Post