अख्तियारले भेटेन मिश्रको घर
News Desk
Sep-03 , 2020 तारिख 12:20 बेलुका

काठमाडौं — भाद्र १८, २०७७ । 

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा घुस बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भएका विजयप्रकाश मिश्रको घर र ठेगाना अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नभेटेको भन्दै उपस्थित हुन पत्रिकामा सूचना निकालेको छ।

तत्कालीन सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले प्रिन्टिङ प्रेस खरिदको क्रममा ७० करोड रूपैयाँ घुस बार्गेनिङको अडियो सार्वजनिक गर्ने मिश्रको घर नभेटेको जनाउँदै अख्तियारले गोरखापत्रमा तामेल सूचना प्रकाशित गरेको सात दिनभित्र उपस्थित हुन भनिएको हो।

कानुनअनुसार कुनै पनि व्यक्तिलाई बोलाउँदा सम्बन्धितको घरमा म्याद तामेल पु¥याउनुपर्ने हुन्छ। म्याद तामेल गर्न नसके पत्रिकामा सूचना प्रकाशित गरी जानकारी दिने कानुनी व्यवस्था छ।

घर नभेटेका कारण म्याद तामेली नगरिएको भनिए पनि अख्तियारले उनको नागरिकता लिएको लमजुङ र मिश्रको तीनपुस्तेसहित हालको ठेगाना काठमाडौंस्थित टोखा नगरपालिका–११ वैकुण्ठपुरी सूचनामा उल्लेख भने गरेको छ। तर, अख्तियारले त्यही ठेगानामा म्याद तामेल गर्न नसकेको भन्दै सूचना प्रकाशित गरेको हो।

भ्रष्टाचार निवारण ऐनको दफा ४३ मा कुनै व्यक्तिलाई सूचना दिँदा वा म्याद तामेल गर्दा राष्ट्रिय स्तरको पत्रिकामा सूचना निकाल्नुपर्ने उल्लेख छ।

‘कानुनबमोजिम कुनै व्यक्तिको नाममा सूचना पठाउँदा वा म्याद तामेल गर्दा त्यस्तो व्यक्तिको ठेगाना पत्ता नलागी वा अन्य कारणले सूचना बुझाउन नसकिएमा त्यस्तो व्यक्तिलाई ३० दिनसम्मको म्याद दिई अनुसन्धान वा मुद्दा हेर्ने अधिकारीसमक्ष मुद्दा दायर भइसकेको’ दफा ४३ मा भनिएको छ, ‘विषयको संक्षिप्त विवरण उल्लेख गरी उपस्थित हुन राष्ट्रिय स्तरको पत्रिकामा कम्तीमा दुईपटक सार्वजनिक सूचना प्रकाशन गरिनेछ।’

‘म्याद तामेल गर्न नसकेर सूचना प्रकाशित गरिएको हो,’ अख्तियार प्रवक्ता तारानाथ अधिकारीले भने, ‘उपस्थित हुने सूचना बुझाउन नसकिएको कारण कानुनअनुसार दुईपटक पत्रिकामा सूचना प्रकाशित गर्नुपर्छ।’ अख्तियारले ७० करोड घुससम्बन्धी अडियो काण्डमा पूर्व मन्त्री बास्कोटालाई भने अझै मुद्दा दर्ता गरेको छैन।

विभिन्न कारण देखाएर अख्तियारले मुद्दा दर्ता नगरी तामेलीमा राख्ने आशंका बढेको छ। अख्तियारले भने त्यस विषयमा अनुसन्धान भइरहेको बताएको छ। ‘मुद्दा तामेलीमा जाँदै भन्नेमा कुनै सत्यता छैन,’ अख्तियारका प्रवक्ता अधिकारीले भने, ‘मुद्दा अनुसन्धानको क्रममा छ।

तथ्य, प्रमाण संकलन भइसकेको छैन।’ अनुसन्धानमै रहेको विषय भएकाले आयोगले निर्णयपछि मात्रै तामेलीमा जाने वा दर्ता गर्ने भन्ने जानकारी हुने उनले बताएको आजको नागरिक दैनिकमा खवर छ ।

Related Post